भोटेकोशी बाढीबारे मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो। भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा गम्भीर क्षति पुगेको बताइएको छ।



भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर रसुवातर्फ उडेका छन्।

तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको बताइएको छ।

चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठूलो बाढी प्रवेश गरेपछि जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।